
काठमाडौँ – नेकपा माओवादी केन्द्रको केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग, र लेखा आयोगको संयुक्त परामर्श बैठक आज सम्पन्न भएको छ।
यस बैठकको आयोजना पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा हिजोबाट सुरु भएको थियो। बैठकमा हिजो नै आयोगका प्रमुख र सदस्य गरी ४० जनाले सुझाव प्रस्तुत गरेका थिए। आज बिहानदेखि शुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित अन्य केन्द्रीय पदाधिकारीहरूले सम्बोधन गरेपछि यो बैठक सम्पन्न भएको हो।
आसन्न केन्द्रीय समितिको बैठकको तयारी स्वरुप आयोजित यस परामर्श कार्यक्रमअन्तर्गत बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश, गण्डकी, सुदूरपश्चिम, कर्णाली, र लुम्बिनी प्रदेशमा प्रदेश परामर्श बैठकहरू सफलतापूर्वक सम्पन्न भइसकेका छन्। अब प्रदेश नम्बर १ र मधेश प्रदेशका साथै जेष्ठ कम्युनिष्ट मञ्च र सल्लाहकार समितिको बैठक बाकी रहेको माओवादी केन्द्रले जनाएको छ।
प्रदेश परामर्श बैठकको सफलतासँगै अब माओवादी केन्द्रको केन्द्रीय समिति बैठकको तयारी भइरहेको छ। यस बैठकमा केन्द्रीय कमिटीले ठोस निर्णय गरेर संगठन सुदृढीकरण र जनपरिचालनका लागि आवश्यक कार्यक्रम तय गर्ने तयारी गरेको छ।